३ असोज, विराटनगर । नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा रहेका वडाहरूको अधिवेशन अन्योलमा परेको छ । कांग्रेसले आज देशभर वडा अधिवेशन गर्दैछ ।
अधिवेशनको क्रियाशील सदस्यता नआएपछि अधिवेशन नै अन्योलमा परेको हो । यो क्षेत्र कांग्रेस नेता डा. शेखर कोइराला र सहमहामन्त्री डिला संग्रौलाको गृहक्षेत्र हो ।
क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक भएर समयमा नआउँदा अधिवेशनको प्रक्रिया अन्योलमा परेको अधिवेशन गर्ने जिम्मेवारी पाएका नेपाली कांग्रेस नेता चुमनारायण तबदारले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय तहबाट क्रियाशील सदस्यहरूको नामावली अझै अपडेट भएर नआएकाले वडा अधिवेशन सुरु भएको छैन ।
‘६ नम्बर क्षेत्रका वडाहरूमा अहिले क्रियाशील सदस्यहरूको सूची अध्यावधिक भएर आएको अवस्था छैन,’ तबदारले भने, ‘हामी अहिले गाउँमै छौं । सर्वसम्मति भएका वा थपिएका नामहरूसहितको अन्तिम नामावली केन्द्रबाट नआएसम्म निर्वाचन अधिकृतहरूले काम सुरु गर्न सक्ने स्थिति रहँदैन ।’
क्षेत्रीय सभापति देवराज तामाङ थिए, उनले केन्द्रीय नेतृत्वलाई असहयोग गरेपछि अधिवेशन गर्ने जिम्मेवारी पूर्वसांसद तबदारलाई दिइएको थियो । तबदारले सूची प्राप्त हुनासाथ प्रक्रिया अघि बढाउन सकिने भए पनि नामावली नआउँदा तोकिएकै दिन अधिवेशन हुन नसकेको बताए ।
अन्तिम नामावली प्राप्त नभएसम्म कुन आधारमा अधिवेशन गराउने भन्ने व्यावहारिक कठिनाइ उत्पन्न भएको उनको भनाइ छ । ‘नामावली आइहाल्यो भने बेलुकासम्म अधिवेशन गर्न सकिन्छ,’ उनले भने ।
कांग्रेस संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति तोकेपछि डाक्टर कोइराला भने तटस्थ बसेका छन् ।





