काठमाडौँ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा सबैभन्दा प्राथमिक कार्यभार भएको बताएका छन् ।
‘मुलुक बचाउन जे गर्नु पर्छ, त्यसका लागि तयार हुनु’ अहिलेको पहिलो आवश्यकता भएको उनको भनाइ छ। वामपन्थी शक्तिहरूले लोकतान्त्रिक गणतन्त्रको रक्षालाई मात्र प्रतिगमनविरुद्धको मुद्दाका रूपमा प्रस्तुत गर्ने गरेको भन्दै उनले त्यसलाई चिन्ताको विषय बताएका छन् ।
समाजवाद उन्मुख राज्य र अर्थतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्न वामपन्थी शक्तिहरूको नेतृत्व आवश्यक रहेको दाबी गरे।
संविधान जारी भएपछि सङ्घ, प्रदेश र स्थानीय तहमा जनताले वामपन्थी शक्तिहरूलाई ठूलो जनादेश दिए पनि त्यसअनुसारको जिम्मेवारी पूरा गर्न नसकेको उनको भनाइ छ।
वामपन्थी शक्तिहरूले नेतृत्व गर्न नसके संविधानको मर्म र भावअनुसार संविधान कार्यान्वयन हुन नसक्ने र परिवर्तन परम्परागत संसदीय गणतन्त्रमा सीमित हुने खतरा रहेको बताए।
उनले भने, ‘सम्पूर्ण वामपन्थी शक्तिहरू आपसमा सहकार्य र मोर्चाबद्ध हुँदै उपरोक्त दुई प्रमुख कार्यभारहरू सहित देश र जनताका तात्कालिक मुद्दाहरूलाई सम्बोधन गर्न सम्बन्धित सबैसँग कार्यगत एकता, सहकार्य, मोर्चा गर्दै सबै प्रक्रिया द्वारा सङ्घर्षको नेतृत्व गर्दै अघि बढौँ ।’
कम्युनिस्ट र वामपन्थी शक्तिहरूले आफ्नो निर्मम आत्मसमीक्षा, रूपान्तरण र पुनर्गठन गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘अन्यथा वैचारिक सांस्कृतिक स्खलन र पुँजीवादी भ्रष्टीकरणको तीव्र निरन्तरताले हामीले आजको राष्ट्रिय कार्यभार पूरा गर्न असक्षम हुने मात्र होइन, हामीले आफूलाई नै बचाउन सक्नेछैनौँ ।’





