टिआरसीबारे सहमति जुटाउन गठित संसदीय उपसमितिको म्याद १५ दिन थप

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , ५ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टिआरसी) माथि छलफल गर्न गठित संसदीय उपसमितिको म्याद थपिएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले उपसमितिको म्याद थप गरेको हो । यसअघि जेठ ५ गते उपसमिति गठन भएको थियो । त्यसबेला २१ दिनको समय दिइएको थियो ।

उपसमितिका जेष्ठ सदस्य ध्रुवबहादुर प्रधानकाअनुसार उपसमितिले काम सकाएको छैन । काम गरिरहेको र नसकिएको भन्दै उनले दुई साता समय थप गर्न माग गरेका थिए । सोही अनुरुप समितिले उपसमितिको म्याद थप गर्ने निर्णय गरेको हो ।

उपसमिति सदस्य सुवास नेम्वाङले १० कार्य दिन हुँदा उपसमितिले काम सकाउन सक्ने बताएका छन् । विगतमा धेरै काम भएको तर भएका कामलाई लिपिवद्ध गर्ने सहितका कार्यका लागि समय अपुग भएको उनले बताए ।

११ सदस्यीय उपसमितिमा नेम्वाङ सहित सांसदहरु महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, पूर्णबहादुर घर्ती, सन्तोष परियार, ध्रुवबहादुर प्रधान, रञ्जुकुमारी झा, शेरबहादुर कुँवर र गोमा लाभ सापकोटा सदस्य छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्