काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याललगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी भए। विभिन्न राजनीतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताए।
राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जोगाउन सकोस्।’
राष्ट्रपतिको सम्बोधनपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपाल, नेपाली कांग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसँग सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राउन्ड टेबलमा सँगै देखिए।
सभापति लामिछाने राजनीतिक दलका शीर्ष नेताहरुसँग संवादमा बसेपनि प्रधानमन्त्री शाह भने देखिएनन्।





