काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार गर्न ९ वटा स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरी गत १ वैशाखदेखि परीक्षणका रूपमा सञ्चालन हुँदै आएको रात्रिकालीन यातायात सेवा अब थप विस्तार गरिने भएको हो ।

रात्रिको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक र बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले संविधान दिवसका दिन स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीमा काठमाडौं र ललितपुर महानगरपालिका तथा बूढानीलकण्ठ, गोदावरी, चन्द्रागिरि, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले हस्ताक्षर गरेका छन् । साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

समझदारीपछि ६ वटा रुटमा ३० वटा बस सञ्चालन गर्ने व्यवस्था गरिएको छ । परीक्षणका क्रममा सञ्चालन गरिएका २ रुटमा ४ वटा बस थप गरिएको छ भने यसअघि ७ वटा बसबाट सञ्चालन हुँदै आएको सेवा ३० वटा बसमा विस्तार गरिएको हो ।

कुन–कुन रुटमा चल्छन् साझा बस ?

  • जगाती–सूर्यविनायक–ठमेल : ६ बस
  • लगनखेल–बूढानीलकण्ठ हुँदै गोदावरी : ६ बस
  • रिङरोड दुवै दिशामा : ८ बस
  • कीर्तिपुर–जमल : ४ बस
  • टाखेल–ठमेल : २ बस
  • नागढुङ्गा–एयरपोर्ट : ४ बस

यसअघि लगनखेल–बूढानीलकण्ठ र नागढुङ्गा–एयरपोर्ट रुटमा राति ८ बजेदेखि ११ बजेसम्म ७ वटा बसमार्फत नमुना सेवा सञ्चालन हुँदै आएको थियो ।

रात्रिकालीन बस सञ्चालनको खर्च यात्रुबाट प्राप्त टिकट आम्दानीले नपुगेमा अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा बेहोर्ने र बाँकी ५० प्रतिशत रकम जनसंख्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले ९ प्रतिशतका दरले बेहोर्ने सहमति भएको छ ।

रुटमा यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्डसहित डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ ।

चक्रपथमा सेवा विस्तार भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न स्थानमा पुग्न सकिने व्यवस्था गरिएको छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्नेछ ।

टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझा यातायातले १ असोजदेखि डिजिटल टिकटिङ प्रणाली विकास गरेको छ । यात्रुले क्यूआरमार्फत वा नगद दिएर पनि टिकट लिन सक्ने व्यवस्था गरिएको छ ।

साझा यातायातमा नेपाल सरकारको ३ अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । हाल साझा यातायातसँग १११ वटा बस सञ्चालनमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी