५ असोज, पोखरा । गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि अस्पतालको बेड संख्या बढाउने अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको छ ।
पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गरी अस्पताल सञ्चालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप सार्वजनिक भएको थियो ।
पत्रकार अपिल त्रिपाठीले शुक्रबार ‘गण्डकी छड्के’ युट्युबमार्फत उक्त प्रकरणमा ३० लाख रुपैयाँ घुस डिल भएको दाबी सार्वजनिक गरेका थिए । घुस रकम लिएको आरोप भने पाण्डेले अस्वीकार गरेका छन् । तर, मन्त्री पाण्डे र उनको सचिवालयले घुस डिल भएको भनिएको विषयलाई भने स्पष्ट रूपमा अस्वीकार नगरेको दाबी गरिएको छ ।
यसैबीच गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री जीतबहादुर शेरचनका अनुसार बसौलालाई अर्को व्यवस्था नभएसम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गरिने भएको छ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
यस्तै, उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट नभएसम्म पद्म नर्सिङ होमलाई दिइएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
एमालेले पनि बनायो छानबिन समिति
एमालेका निवर्तमान मन्त्री पाण्डे घुस प्रकरणमा जोडिएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले पनि घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । संसदीय दलले घटनाको सत्यतथ्य छानबिन गर्न छुट्टै समिति गठन गरेको छ ।
दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित समितिलाई १५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।
समितिका सदस्यमा एमाले गण्डकी प्रदेश सभा सदस्य तथा संसदीय बोर्डका सचिव वेदबहादुर गुरुङ र पार्टी प्रदेश कमिटीका तर्फबाट प्रदेश कमिटी सचिव धनञ्जय दवाडी रहेका छन् । समिति गठनबारे जानकारी दिँदै प्रमुख सचेतक पहारीले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गरिने बताएकी छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गत वैशाख २ गते स्वास्थ्यमन्त्री नियुक्त भएका लक्ष्मणबहादुर पाण्डेसहित ४ जना एमाले मन्त्रीले भदौ १० गते राजीनामा दिएका थिए । त्यसअघि स्वास्थ्य मन्त्री एमालेकै कृष्ण पाठक थिए ।





