काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै बसेर गाडीमा आगो लगाएका छन् ।
बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै बसेर आगो लगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना हुँदा बसमा कुनै पनि यात्रु थिएनन् । चालक लामाले बसभित्रै बसेर आगो लगाएपछि गाडी ह्वारह्वार्ती जलेको थियो । आगलागी भएपछि तत्काल दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
आफैंले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।
चालकले आफ्नै बसमा आगो लगाउनुको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन । प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।





