काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको आरोप लगाएका छन्।
सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले यस्तो उल्लेख गरेका हुन्।
जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिसमेत देशव्यापी रूपमा आगजनी र लुटपाट गरिनुलाई क्रान्ति वा परिवर्तन मान्न नसकिने ओलीको भनाइ छ।
‘यी घटनाहरूमा सत्ता परिवर्तनको उद्देश्यले बाह्य रूपमा प्रायोजित रणनीतिको स्पष्ट छाप देखिन्छ,’ ओलीले प्रतिवेदनमा लेखेका छन्, ‘हालै विभिन्न विदेशी सञ्चारमाध्यममा आएका नयाँ तथ्यहरूले नेपालको आन्तरिक राजनीतिमा भूराजनीतिक स्वार्थहरू कसरी प्रकट भएका थिए भन्ने तथ्यलाई पुष्टि गर्दै लगेका छन्।’
साथै, नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्याउने काम सरकारकै संरक्षणमा भइरहेको आरोप पनि ओलीले लगाएका छन्।
‘त्यस घटनायता नेपालमा बाह्य चासो र चलखेल बढ्दै गएको छ। नेपालको भूमिबाट छिमेकीहरूका संवेदनशीलतामाथि आँच पुर्याउने काम सरकारकै संरक्षणमा भइरहेका छन्,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
त्यसैगरी, नेपालका मूल्यवान खनिज सम्पदाका बारेमा पछिल्लो समय आइरहेका संवेदनशील सूचना र समाचारले आम नेपालीलाई सशङ्कित बनाएको पनि ओलीले बताएका छन्।





