५ असोज, काठमाडौं । सामाजिक हैसियतको भिन्नता, पारिवारिक दबाब र एउटा अप्रत्याशित दुर्घटनाका कारण छुट्टिन पुगेका प्रेमी–प्रेमिकाको मार्मिक कथामा आधारित नयाँ म्युजिक भिडियो ‘बाचा बन्धन’ सार्वजनिक भएको छ।
प्रेम, वियोग र सस्पेन्सलाई कथाको केन्द्रमा राखिएको भिडियोले प्रेम सम्बन्धमा आउने सामाजिक तथा पारिवारिक अवरोधसँगै परिस्थितिले निम्त्याउने पीडालाई प्रस्तुत गरेको छ।
‘बाचा बन्धन’ मा संयोग राजवंशीको स्वर, शब्द र संगीत रहेको छ। गीतको संगीत संयोजन तथा प्रस्तुतिमा ब्यान्डका सदस्यहरू रोहन देवकोटा, प्रनिश राई, विश्वास पोखरेल र सञ्जीव गुरुङको समेत संलग्नता रहेको छ।
भिडियोमा सविन कार्की (Beest) र मल्लिका महत मुख्य भूमिकामा देखिएका छन्। त्यस्तै, सुयोग राजवंशी र आशिष पराजुलीको समेत अभिनय रहेको छ।
भिडियोको छायांकन हरि हुमागाईंले गरेका हुन् भने सम्पादन तथा कलर बिजेश पौडेलले सम्हालेका छन्। पोस्ट प्रोडक्सनको काम लाटोकोसेरो फिल्म्सले गरेको हो।
अनिश श्रेष्ठ निर्माता रहेको ‘बाचा बन्धन’लाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै भिडियोले प्रेम सम्बन्धमा सामाजिक हैसियत, पारिवारिक दबाब र अचानक आइपर्ने दुर्घटनाले ल्याउने परिवर्तनलाई उजागर गर्ने प्रयास गरेको छ।
मर्मस्पर्शी कथा र सस्पेन्सको संयोजन गरिएको यो भिडियो ‘The Coincidence’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
पुरा भिडियो हेर्नका लागि –





