जापानमा शक्तिशाली टाइफूनको ताण्डव : २० लाखलाई सुरक्षित स्थानमा सारियो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

जापानका विभिन्न प्रान्तहरूमा शक्तिशाली टाइफून (आँधी) ‘डुजुवान’ले जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीपछि सरकारले करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेको बीबीसीले जनाएको छ । 

देशको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार आँधीका कारण हालसम्म दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन्। यसबाहेक कानागावा प्रान्तमा मात्रै चार जना हराइरहेका छन्।

जापान मौसम विज्ञान एजेन्सीले यसअघि नै आसन्न खतराको चेतावनी जारी गरेको थियो, यद्यपि केही स्थानमा मौसमसम्बन्धी चेतावनीहरूको स्तर भने केही घटाइएको छ। आँधीका कारण आएको तीब्र हावाहुरीका कारण ५० हजारभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य भएका छन् भने सयौं उडानहरू र रेल सेवाहरू पूर्ण रूपमा स्थगित गरिएका छन्। 

आँधीको प्रभाव क्षेत्रमा प्रतिघण्टा १३० किलोमिटरको गतिमा निरन्तर हावा चलेको छ भने यसको वेग प्रतिघण्टा १९४ किलोमिटरसम्म मापन गरिएको छ।

यो आँधी प्यासिफिक महासागरमा उत्पन्न भएका मौसमी आँधीहरूको शृङ्खलाको पछिल्लो कडी हो, जसलाई महासागर तातो बनाउने प्राकृतिक परिघटना ‘सुपर एल निनो’ले अझ बढी शक्तिशाली बनाएको छ। 

वर्तमान समयमा प्रभाव पार्दै गरेको ‘एल निनो’ले टाइफूनको कुल संख्यामा प्रत्यक्ष प्रभाव नपारे पनि तिनको उद्गमस्थल, शक्ति र असर पर्ने देशहरूलाई भने प्रभावित पार्ने गर्छ। यसले जापानलाई अझ शक्तिशाली आँधीहरूको चपेटामा पार्न सक्ने विज्ञहरूको भनाइ छ। 

आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्