छोराको न्याय खोज्दै संसद् पुगेकी हुँ : सांसद रचना खतिवडा खत्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आफू प्रतिनिधि सभामा आउनुको कारण राजनीतिक रहर वा पदको लालच नभई न्यायको खोजी भएको बताएकी छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले आफ्नो संसद् यात्रा पीडा र न्यायको खोजीबाट सुरु भएको बताइन्।

उनले भनिन्, ‘मेरो काखमा हुर्केको बच्चाको ज्यान लिने शासकको तातो गोली र उसको बगेको रगतले न्याय खोज्दै म यहाँसम्म आइपुगेकी हुँ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकहरू र त्यहाँका जननीहरूसँग आफू जोडिनुको मुख्य कारण नै न्याय भएको उनले बताइन्।

देशमा ठूलो राजनीतिक परिवर्तन आए पनि बाटो बिराउने वा जनतालाई सास्ती दिने पुरानै प्रवृत्ति कायमै रहेको भन्दै उनले असन्तुष्टि जनाइन्। सरकारले बाटो बिराए संसद्मा रहेका सबैले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

‘यदि सरकारले बाटो बिराउँछ भने संसद्को यो रोस्टममा रहेका हरेकले खबरदारी गर्नुपर्छ,’ उनले भनिन्।

आफ्नो पीडा र संसद् यात्रालाई लिएर गरिएका केही अपमानजनक टिप्पणीप्रति पनि उनले आपत्ति जनाइन्। ‘कसैले मेरो छोराको लासमाथि राजनीति गरेर पद साटेको भन्दै टिप्पणी गर्दा म स्तब्ध छु,’ उनले भनिन्।

उनले आफ्नो पीडामाथि थप प्रहार नगर्न आग्रह गर्दै भनिन्, ‘मेरो छातीको घाउमाथि कसैले प्रहार नगरोस्। मेरो छोरा र म त शहीद भयौँ, कम्तीमा अब मेरा छोरा जस्ता अरू छोराहरूले मर्न नपरोस्।’

सांसद खतिवडाले सरकारसँग आफ्नो छोराको न्यायको माग गर्दै अब कुनै पनि आमाले आफ्नो सन्तान गुमाउन नपर्ने अवस्था सुनिश्चित गर्न आग्रह गरिन्।

उनले आफ्नो छोराको बलिदान खेर जान नहुने बताउँदै यस्ता घटना दोहोरिन नदिन राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी