काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले रसुवा–भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा सरकारले पर्याप्त तत्परता नदेखाएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले सुरुङभित्र फसेका मानिसको उद्धारमा भएको ढिलाइ राज्यको कमजोरी भएको बताए।
उनले सुरुङभित्र मानिस फसेको जानकारी घटनाको चार घण्टामै सरकारलाई गराएको र १२ घण्टाभित्र गृहमन्त्रीसँग समेत बसेर उद्धारका लागि आग्रह गरेको दाबी गरे। तर उद्धार सुरु गर्न २४, ४८, ७२, १४४ हुँदै १६८ घण्टा र २६४ घण्टासम्म लागेको उनको भनाइ थियो।
‘सुरुङभित्र फसेका मानिस बाढीको भेलमा बगिरहेका थिएनन्। उनीहरू त्यहीँ थिए, अँध्यारोभित्र थिए। सायद एउटा सानो आशा बोकेर बसेका थिए—सरकार आउँछ, मेरा मान्छे आउँछन् र मलाई बचाउँछन् भनेर,’ शाहीले भने।
सरकारले उद्धारका लागि सुरुङ विज्ञसँग तत्काल परामर्श गर्न, निजी क्षेत्रको सहयोग लिन तथा आवश्यक परे विदेशी उद्धार टोली बोलाउन सक्ने भए पनि त्यसतर्फ पर्याप्त पहल नगरेको उनले आरोप लगाए। आवश्यक उपकरण ल्याउनसमेत ढिलाइ भएको उनको भनाइ थियो।
शाहीले जुम्लामा २०० मिटर लामो सुरुङभित्र फसेका चार जना व्यक्ति ४८ घण्टाभित्र जीवितै बाहिरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। उक्त घटनाले सुरुङभित्र फसेका व्यक्तिको उद्धार सम्भव रहेको प्रमाण दिएको उनले बताए।
‘त्यहाँ जीवन थियो, त्यहाँ सास थियो, त्यहाँ उद्धारको सम्भावना थियो। तर सरकारले उनीहरूसँग सामान्य कुरा पनि सुनेन,’ उनले भने।
सात दिनपछि मात्रै उद्धारका लागि आवश्यक उपकरण सुरुङको मुखमा पुगेको दाबी गर्दै शाहीले उक्त अवधिलाई सम्भावित जीवन बचाउन गुमेको समयका रूपमा व्याख्या गरे।
‘हामीले त्यहाँ केवल सात दिन गुमाएका थिएनौँ, हामीले सम्भावित जीवनका सात दिन गुमाएका थियौँ,’ उनले भने।
सुरुङ खुले पनि परिवारका सदस्यहरू घर फर्कन नसकेको र शवहरू मात्रै बाहिर निकालिएको भन्दै शाहीले पीडित परिवारको अवस्थाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरे। आफ्नो परिवारका सदस्यसमेत सुरुङभित्र फसेको उल्लेख गर्दै उनले उद्धारको प्रत्येक प्रयाससँगै उनीहरू जीवितै फर्कने आशा कमजोर हुँदै गएको बताए।
राज्यसँग ठूलो सुरक्षा जनशक्ति, सरकारी संयन्त्र र पर्याप्त आर्थिक स्रोत रहे पनि सांसदहरूले व्यक्तिगत प्रयासबाहेक राज्यका संयन्त्र परिचालन गर्न सक्ने अधिकार नरहेको उनले बताए। त्यसैले उपलब्ध स्रोतसाधन प्रयोग गर्न, आवश्यक परे विदेशबाट विशेषज्ञ तथा उपकरण ल्याउन र मानिसको सास बाँकी हुँदासम्म उद्धारमा पुग्न आफूहरूले सरकारलाई आग्रह गरेको उनको भनाइ थियो।
आफ्नो अभिव्यक्ति राजनीतिक स्वार्थका लागि नभएको स्पष्ट पार्दै शाहीले भने, ‘यो सत्ता पक्ष र प्रतिपक्षको प्रश्न होइन। मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन?’
समयमै उद्धार हुन नसकेको भन्दै उनले सरकारको उद्धार व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाए। अन्त्यमा उनले ‘सरकारले सुरुङभित्र मान्छेको हत्या गर्यो’ भन्ने आरोपसमेत लगाए।





