काठमाडौं । चर्चित गायक तथा सर्जक प्रकाश कटुवालले कलाकारितासँगै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्दै कटुवालले देश परिवर्तन र पार्टी संगठनलाई थप बलियो बनाउन आफू राजनीतिक यात्रामा आएको बताएका छन्।
उमाकुण्ड गाउँपालिका–३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका कटुवालले कांग्रेसका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता, अग्रज, युवा तथा महाधिवेशन प्रतिनिधिसँग सहयोग र समर्थनको अपिल गरेका छन्।
कलाकारितामार्फत आफ्नो पहिचान बनाएका कटुवालले अब सामाजिक तथा राजनीतिक भूमिकालाई पनि सँगसँगै अघि बढाउने बताएका छन्। देशमा परिवर्तन आवश्यक रहेको र त्यसका लागि राजनीतिक क्षेत्रबाट योगदान दिनुपर्ने निष्कर्षसहित आफू कांग्रेसको राजनीतिमा सक्रिय भएको उनको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै उनले पार्टीमा पद प्राप्तिका लागि मात्र नभई संगठन निर्माण र कार्यकर्ताका आवाजलाई नेतृत्व तहसम्म पुर्याउने उद्देश्यले आफू अघि बढेको बताए। स्थानीय तहदेखि जिल्लासम्म कांग्रेसको संगठनलाई थप मजबुत बनाउने तथा युवा पुस्तालाई पार्टीको मूलधारमा जोड्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
‘कलाकारिताबाट जनताको मन जित्दै आएको छु, अब राजनीतिक माध्यमबाट देश र समाजका लागि योगदान गर्ने उद्देश्य छ,’ कटुवालले भने, ‘पार्टीका अग्रज, युवा साथीहरू र सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विश्वास र सहयोगले मेरो राजनीतिक यात्रालाई थप ऊर्जा मिल्नेछ।’
कटुवालले आफू निर्वाचित भए पार्टी संगठनलाई चलायमान बनाउने, कार्यकर्ताका समस्या र अपेक्षालाई नेतृत्वसमक्ष पुर्याउने तथा युवाको सहभागिता बढाउने भूमिकामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
रामेछापमा कांग्रेसको आन्तरिक निर्वाचनको तयारी अघि बढिरहेका बेला विभिन्न पदका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्न थालेका छन्। यही क्रममा सांगीतिक क्षेत्रमा परिचित कटुवालले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गरेपछि जिल्लाको कांग्रेस राजनीतिमा उनको प्रवेशले चासो बढाएको छ।
कटुवालको उम्मेदवारीसँगै रामेछाप कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनका लागि हुने प्रतिस्पर्धा थप चर्चामा आएको छ। उम्मेदवारका राजनीतिक एजेन्डा, संगठनप्रतिको प्रतिबद्धता, युवा पुस्तासँगको सम्बन्ध र पार्टीभित्रको भूमिकाबारे प्रतिनिधिहरूबीच बहस हुने अपेक्षा गरिएको छ।
कटुवालले रामेछापका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आफ्नो उम्मेदवारीमा सहयोग गर्दै अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।





