७ असोज, पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ।
सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी काम अगाडि बढाएको हो।
सुरुङभित्र सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले आगामी मंसिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तोलाले बताए।
उनका अनुसार बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले सवारी सञ्चालनको काम करिब एक महिना पछि धकेलिएको हो। निर्माण सामग्री आएपछि टनेलभित्रको बाँकी काम अघि बढाउने र मंसिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालन गर्ने पूर्वनिर्धारित योजना केही समय प्रभावित भएको बास्तोलाले बताए।
हाल सुरुङभित्र सडकको पिच सकिएर रङरोगनको काम भइरहेको छ। टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ। लाइनिङ अर्थात् भुइँ तथा भित्ता ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ। अब इलेक्ट्रोमेकानिकलतर्फका केही काम बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले बताए।
सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताए।
हालसम्म मुख्य सुरुङसहित बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र टनेलभित्रको प्रिमेन्टको काम सम्पन्न भएको आनन्दले जानकारी दिए।
तीनवटा बाइपास निर्माण गरिएको छ। सुरुङको भित्री काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम थालिने इन्जिनियर आनन्दले बताए।
सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल ब्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनको भनाइ छ।
एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु भएको हो। आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ। उक्त कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का लिएको हो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो झर्ने क्षेत्रका रूपमा रहेको छ। सुक्खायाममा समेत सुक्खा पहिरो खस्ने भएकाले राजमार्गको उक्त खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।
सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुंगा खस्ने समस्याबाट यात्रुले राहत पाउने अपेक्षा गरिएको छ।
सुरुङमार्ग सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठानसहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।




