पोखरा विमानस्थलबाट आजदेखि दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान हुने सम्भावना बढेको छ। आज बुधबार साँझदेखि दुबई–पोखरा–दुबई रुटमा उडान हुँदैछ। संयुक्त अरब इमिरेट्स (यूएई) को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले यो रुटमा नियमित उडान गर्ने तयारी गरेको हो।

२०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म नियमित उडान प्रभावकारी हुन सकेको छैन। बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा विमानस्थलमा अवतरण गर्नेछ। त्यसपछि सोही दिन साँझ ७ः१५ बजे पोखराबाट यात्रु लिएर जहाज दुबईका लागि उड्नेछ।

फ्लाई दुबईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ बाट पोखराका लागि दैनिक सेवा सञ्चालन गर्नेछ। पहिलोपटक अवतरण गर्ने विमानलाई पोखरा विमानस्थलमा वाटर स्यालुटसहित भव्य स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघिको सार्वजनिक कार्यक्रम भने रद्द गरिएको छ। विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको काम पूरा भएको पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

उनका अनुसार विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अब दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा विमानस्थल व्यवस्थापन उत्साहित रहेको उनले बताए।

विमानस्थलभित्र रहेको अध्यागमन, भन्सार र सुरक्षा व्यवस्थासमेत चुस्त पारिएको छ। फ्लाई दुबईले यो सेवा एमिरेट्ससँगको कोड सेयरअन्तर्गत सञ्चालन गर्ने भएकाले दुबईलाई ट्रान्जिट बनाएर विश्वका १२० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सहज हुने जनाइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानले पोखरालाई विश्व हवाई सञ्जालसँग जोड्ने बताए। उनका अनुसार नियमित उडानले पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज र सुदृढ बनाउने विश्वास गरिएको छ।

फ्लाई दुबईको नियमित उडान तालिका सार्वजनिक भएसँगै पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा आम नागरिक उत्साहित बनेका छन्। पहिलो उडानबाट पोखरा आउने तथा यहाँबाट जाने यात्रुलाई पर्यटन व्यवसायीले खादा र माला लगाएर स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

होटल तथा पर्यटन व्यवसायीहरूले यात्रुका लागि विभिन्न छुट प्याकेज, उपहार कुपन, सूचना डेस्क र निःशुल्क पिकअपजस्ता सेवाको घोषणा गरेका छन्।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई ऐतिहासिक अवसरका रूपमा लिँदै यसलाई सफल बनाउन पोखराका सबै व्यवसायी र सरोकारवालाले अपनत्व लिएर यात्रु बढाउने वातावरण बनाउनुपर्ने बताए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले विदेशमा रहेका नेपालीहरूलाई काठमाडौँ नगई सिधै पोखरा आउने विकल्प खुलेको बताए। उनका अनुसार दुबई, युरोप र अमेरिकामा रहेका नेपालीहरू सिधै पोखरा आउन पाउँदा अतिरिक्त समय र खर्च घट्नेछ। यसलाई थप प्रभावकारी बनाउन भिसा, श्रम स्वीकृति, स्वास्थ्य परीक्षण र कार्गो सेवा पोखरामै सहज उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले यो उडानलाई पर्यटनमा मात्र सीमित नगरी स्थानीय कृषि तथा औद्योगिक उत्पादन निर्यातको अवसरका रूपमा समेत सदुपयोग गर्नुपर्ने बताए।

यसअघि कति भए अन्तर्राष्ट्रिय उडान?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा अन्तर्राष्ट्रिय उडान भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका अनुसार हवाई कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा पछिल्लो समय यात्रु करमा समेत छुट दिइएको छ। विमानस्थलले हवाई कम्पनीलाई ल्यान्डिङ र पार्किङ शुल्कमा छुट दिँदै आएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३ हजार ८२८ यात्रुले आवतजावत गरेका छन्। खासगरी चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा एक वर्षसम्म नियमित उडान गरिएको थियो। अन्य केही देशमा पनि चार्टर्ड उडान भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी