वसन्तपुरमा इन्द्रजात्रा सुरु, इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

७ असोज, काठमाडौं । वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु भएको छ। हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो।

भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ। त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताका पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने गरिन्छ।

आज ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको मान्यता छ। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने परम्परा छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गर्ने गरिन्छ।

लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लिङ्गो ढाल्ने विधान रहेको छ।

नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा धुमधामका साथ मनाइन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी