एमाले बैठकमा प्रदीप ज्ञवालीको प्रश्न : ‘सबैभन्दा धेरै अवसर पाउने नै किन असन्तुष्ट?’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीभित्र पर्याप्त अवसर पाएका नेताहरू नै बढी असन्तुष्ट देखिनुको कारणबारे प्रश्न उठाएका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले भने, ‘सबैभन्दा धेरै अवसर पाउने नै सबैभन्दा असन्तुष्ट देखिने कारण के हो ? सन्देश नै प्राप्ति हो भन्ने दियौँ कि अवसर दिँदा मूल्याङ्कन भएन ?’

उनले एमाले, कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण चुनौतीको अवस्थामा रहेको भन्दै अहिले पार्टीभित्र एकता आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी असफल हुँदैमा एमाले स्वतः सफल नहुने उल्लेख गर्दै ज्ञवालीले वैकल्पिक शक्तिको निर्माणलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताए। ‘विकल्पमा अर्को बुर्जुवा शक्ति तयार गरिँदैछ,’ उनले भने।

पार्टीको पछिल्लो अवस्थाको समीक्षा गर्दै ज्ञवालीले आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनुलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे। पार्टी पुनर्गठनको बहस व्यक्ति केन्द्रित बन्दै जाँदा ध्रुवीकरण बढेको उनको भनाइ थियो।

उनले भने, ‘पहिला औषधिको प्रेस्क्रिप्सन, त्यसपछि रोगको डायग्नोसिस गर्न खोजेजस्तो अवस्था देखिएको छ।’

पार्टीभित्र नेतृत्व परिवर्तनलाई मात्रै समाधान ठान्ने र पुनर्गठनको बहसलाई नै विभाजनका रूपमा बुझ्ने दुवै अतिवादी सोचले समस्या बढाएको ज्ञवालीले बताए। कार्यदलको प्रतिवेदनलाई आधार बनाएर पार्टीलाई एकताबद्ध गर्ने जिम्मेवारी नेतृत्वको भएको उनको भनाइ छ।

उनले पार्टीको ध्यान सत्ता र आन्तरिक विवादभन्दा जनजीविकाका सवालमा केन्द्रित गर्नुपर्ने बताए। लोकतन्त्र, राष्ट्रिय हित र जनजीविकाको रक्षालाई पार्टीको आगामी कार्यभारसँग जोड्नुपर्ने उनको सुझाव छ।

आफूले पार्टीभित्रका विषयमा सार्वजनिक रूपमा निरन्तर धारणा राख्दै आएको उल्लेख गर्दै ज्ञवालीले आफूलाई छद्म रूपमा लेख्नुपर्ने आवश्यकता नरहेको बताए।

मिडियामार्फत तत्काल चर्चा पाउने प्रवृत्तिप्रति टिप्पणी गर्दै उनले भने, ‘मिडिया ट्रायलले एकछिनलाई न्यानो दिन्छ। मिडिया हाइपले एकछिनलाई सन्तुष्टि देला, तर काम लाग्दैन।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी