‘मुग्लिङ बजारमा’ गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मी सम्मान (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

७ असोज, काठमाडौं । महक रेकर्डिङ स्टुडियोमा ‘मुग्लिङ बजारमा’ गीतको विमोचन तथा कलाकार–सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पुराना तथा नयाँ पुस्ताका कलाकार, सञ्चारकर्मी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कलाकार तथा महक रेकर्डिङ स्टुडियोका संचालक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोक स्वर सम्राट राजु परियार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा कलाकार विनोद ढकाल, वरिष्ठ एरेन्जर जुजु गुरुङ लगायत गीतका सम्पूर्ण टिम, कलाकार, सञ्चारकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा “मुग्लिङ बजारमा”गीतको औपचारिक विमोचन सँगै दुई दर्जनभन्दा बढी कलाकार तथा सञ्चारकर्मीलाई एक साथ सम्मान गरिएको थियो। विशेषगरी लोक संगीत तथा सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीहरूलाई समेत महक रेकर्डिङ स्टुडियोको तर्फबाट सम्मान गरिएको थियो।

सम्मानित सञ्चारकर्मीहरूमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, केन्द्रीय सदस्य तथा प्रवक्ता शिखरजङ्ग श्रेष्ठ, केन्द्रीय सदस्य तुलसिंह रनपछाई, केन्द्रीय सदस्य सुमन सापकोटा,केन्द्रीय सदस्य कविराज ढकाल लगायतका सञ्चारकर्मीहरू रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथि लोक स्वर सम्राट राजु परियार तथा विशेष अतिथि चन्द्रमणि गौतमले शुभकामना मन्तव्य राख्दै ‘मुग्लिङ बजारमा’ गीत मौलिक लोक सिर्जनाका रूपमा आएको बताउनुभयो। यस्ता मौलिक गीत–संगीतले नेपाली लोक संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म यसको हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँहरूको भनाइ थियो।

कार्यक्रमको स्वागत मन्तव्य ‘मुग्लिङ बजारमा’ गीतका गायक तथा प्रस्तुतकर्ता विसु गुरुङले राख्नुभएको थियो।

‘मुग्लिङ बजारमा’ गीतमा विसु गुरुङ र पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ। मौलिक नेपाली लोक संगीतलाई प्राथमिकता दिइएको उक्त गीतको विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमले कला, संगीत र सञ्चार क्षेत्रबीचको सहकार्यलाई समेत जोड दिएको आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्