भारी वर्षाको जोखिम : सरकारले घण्टा–घण्टामा बाढीको अवस्था अपडेट गर्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अपडेट दिने भएको छ।

आगामी शुक्रबारदेखि आइतबार अर्थात् असोज ८, ९ र १० गतेसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ।

सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले बताए।

उप्रेतीले नागरिकको मोबाइलमा एसएमएस अलर्ट आउने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। समुद्रमा बन्ने ठूलो आँधी अर्थात् साइक्लोन प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ।

मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ। मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।

जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहन पनि एडभाइजरी जारी गरिएको छ।

विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा निषेध गर्न सकिने प्राधिकरणले जनाएको छ। शुक्रबार र शनिबार अतिआवश्यक नपरी यात्रा नगर्न यात्रुलाई तथा सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई आग्रह गर्ने तयारी गरिएको छ।

पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ।

वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ। यससम्बन्धी कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी भइसकेको छ।

प्राधिकरणले बाढीका बेला भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई चेतावनी दिएको छ। बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ।

हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी