काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नभएका व्यक्तिलाई पार्टी सदस्य नबनाउन निर्देशन दिएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै कांग्रेसको विधानअनुसार पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका छन्।
१५औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका सुजल चापागाईँको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पनि स्थगन गरिएको कांग्रेसले जनाएको छ। चापागाईँ १७ वर्ष पूरा भए पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि जिम्मेवारी स्थगन गरिएको हो।
कांग्रेसका अनुसार आगामी २०८३ माघ १८ गते चापागाईँको उमेर १८ वर्ष पूरा हुनेछ। त्यसपछि मात्रै उनले चाहेमा पार्टी सदस्यता कायम हुने स्पष्ट गरिएको छ।
यस्तै, अन्य जिल्लाका वडा तहका निर्वाचनमा पनि यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा उनीहरूको निर्वाचित जिम्मेवारी कार्यान्वयन नगर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।






