रौतहट प्रशासन ‘हाई अलर्ट’मा, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

रौतहट, ७ असोज । रौतहटमा असोज ८ गतेदेखि केही दिन लगातार भारी वर्षा हुने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार बनाउँदै सिडियो लक्ष्मी प्रसाद पौडेलले बुधबार सूचना जारी गरी सम्भावित बाढी, डुबान तथा अन्य विपद्को जोखिमबाट जोगिन नागरिकलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका हुन्।

प्रशासनले विशेषगरी नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। स्थानान्तरणमा समस्या भए सम्बन्धित स्थानीय तह र नजिकको सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ।

त्यस्तै, रातको समयमा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्था आए स्थानीय तह तथा सुरक्षा निकायबाट बाटोको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिइएको छ।

यात्राका क्रममा बाटो जोखिमपूर्ण देखिएमा गन्तव्यसम्म पुग्नैपर्ने हतार नगरी जहाँ पुगेको छ, त्यही आसपासको सुरक्षित स्थानमा रोकिन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले यात्रामा निस्कँदा अतिरिक्त कपडा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आवश्यक औषधि साथमा राख्न र मोबाइल पर्याप्त चार्ज गरेर मात्र यात्रा गर्न पनि सुझाएको छ।

सम्भावित विपद्का बेला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी पूर्वतयारी गर्न प्रशासनले आग्रह गरेको छ।

त्यस्तै, माथिल्लो क्षेत्रमा नदी तथा खोलाको अवस्था कस्तो छ भन्नेबारे निरन्तर सूचना लिन र सम्भावित जोखिमको जानकारी पाएलगत्तै उद्धार तथा सुरक्षाका आवश्यक कदम चाल्न पनि प्रशासनले अनुरोध गरेको छ।

सिडियो पौडेलले भारी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य जोखिमलाई ध्यानमा राख्दै ‘विपद् आएपछि उद्धार खोज्नेभन्दा जोखिम आउनुअघि नै सुरक्षित हुने’ गरी पूर्वतयारी गर्न आम नागरिकलाई आग्रह गरेका छन्।

आपतकालीन अवस्थामा सम्पर्क

नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी बल नेपाल : १११४
जिल्ला आपत्कालीन केन्द्र (DEOC) : १२३४
जिल्ला प्रशासन कार्यालय, रौतहट : ९८५५०४७७७२
जिल्ला प्रहरी कार्यालय, रौतहट : ९८५५०४०६०७  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्