७ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्नेक्रम अन्तिम चरणमा पुगेको छ ।
सोमबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि हिजोदेखि सदस्यहरूले धारणा राखिरहेका छन् । योक्रम अब अन्त्यतिर पुगेको केन्द्रीय सदस्य ऐनबहादुर महरले जानकारी दिए ।
नेतृत्व परिवर्तनको बहस र रस्साकस्सीबीच शूरु भएको बैठक आजसम्म आइपुग्दा एकदमै सौहार्द्रपूर्ण, मर्यादित र लोकतान्त्रिक वातावरणमा सञ्चालन भइरहेको महरको दाबी छ । उनका अनुसार बैठकमा सदस्यहरुले पार्टी र जनताबीच सम्बन्धलाई पुनस्र्थापित गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल बोलिसकेपछि बैठकमा नेतृत्व परिवर्तनको ‘च्याप्टर क्लोज’ भइसकेको दाबीसमेत महरले गरे । तथापि पार्टी र जनताबीचको सम्बन्ध थप स्थापित गर्नेगरी कार्यशैली र व्यवहारमा रूपान्तरण गर्नुपर्ने विषय भने जोडका साथ उठेको उनको भनाइ छ ।
‘कसैलाई झोक चल्दैमा नेतृत्व परिवर्तन गर्दै जाने हो भने पार्टी चल्दैन’, उनले भने, ‘अहिले त्यो नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसक्यो ।’
कार्यकर्तामुखी नेता र जनतामुखी कार्यकर्ता भएर राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा सामाजिक न्याय र आर्थिक रूपान्तरणका लागि अभियान अघि बढाउनुपर्ने धारणा बैठकमा आइरहेको महरले बताए ।





