आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ। कोशी र मधेस प्रदेशमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका अधिकांश स्थानमा तथा बागमतीको तराई भूभागका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी