सुर्खेत । लगातारको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ।
पहिरोका कारण मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथलह सडक अवरुद्ध भएका छन्।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार करिब दुई घण्टाभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यस्तै, कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खस्दा सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। पहिरोका कारण उक्त खण्डमा यातायात आवागमन प्रभावित भएको छ। जुम्लादेखि मुगुसम्मको सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जाजरकोटको छेडागाड नगरपालिका–४ स्थित लेवाभीरमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि छेडाथलह भित्री सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यस्तै, राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ स्थित सारखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण कर्णालीका पहाडी सडकखण्डमा पहिरो खस्ने क्रम बढेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।





