तिनाउको बाढीले बुटवलमा ६ घर बगे, हजारजनाको उद्वार

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

बुटवल । रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका-११, टप मझुवा क्षेत्रमा ६ घर बगाएको छ ।

शनिबार राति नदीमा आएको बाढीले दुईवटा पक्की र चारवटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवका अनुसार, तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो ।

लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको डीएसपी श्रीवस्तवले जानकारी दिए ।

श्रीवास्तवका अनुसार, बुटवल–११ अन्तर्गत तिनाउ नदी आसपासका उच्च जोखिम क्षेत्र मझुवाका करिब १ हजारजनालाई रातारात उद्धार गरी पहिलो चरणमा दुर्गा मन्दिरस्थित होल्डिङ सेन्टरमा राखिएको थियो ।

त्यसपछि उनीहरूलाई थप सुरक्षित व्यवस्थापनका लागि बुटवल–११ देवीनगरस्थित नवीन औद्योगिक माध्यमिक विद्यालय, रिता कदर माध्यमिक विद्यालय, उजिरसिंह माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालयलगायत स्थानमा स्थानान्तरण गरिएको बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

बाढीको जोखिम बढेपछि रातभर सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापनमा खटिएका थिए ।

बुटवल क्षेत्रमा शनिबार साँझ ७ बजेदेखि राति १२ बजेसम्म अत्यधिक वर्षा भएको थियो । अहिले भने वर्षा रोकिएसँगै तिनाउ नदीको जलस्तरसमेत घट्दो क्रममा रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी