काठमाडौं । पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना केबलकारसम्म सवारीसाधन लैजान रोकिएको छ। तर, मनकामना केबलकार सेवा भने पूर्ण रूपमा सुरक्षित र नियमित सञ्चालनमा रहेको केबलकार व्यवस्थापनले जनाएको छ।
पहिरोका कारण यात्रुले साविकको मुख्य पार्किङस्थलसम्म सवारीसाधन लैजान नपाउने भएका छन्। यात्रुहरूलाई पैदलमार्ग हुँदै केबलकारसम्म पुग्नुपर्नेछ।
पूर्वतर्फबाट आउने सवारीसाधनका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ।
मौसम अनुकूल हुनासाथ पहिरोले क्षति पुर्याएको सडक मर्मतको काम अघि बढाइने केबलकारले जनाएको छ। राजमार्ग खुलेपछि वा यात्रुहरू केबलकारसम्म आइपुग्न सक्ने अवस्था बनेसँगै सेवा निरन्तर सञ्चालन हुने पनि जनाइएको छ।





