नवलपरासी । नारायणी नदीको बाढी पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का विभिन्न बस्ती डुबानमा परेका छन्। थारुटोल, सैनिक टोल, पहाडी टोल र बड्का टोलका करिब १७० घरधुरीमा बाढी पसेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट वृद्धवृद्धा, महिला तथा बालबालिकासहित करिब ४०० जनालाई प्रहरीले सुरक्षित रूपमा विपद् व्यवस्थापन भवनमा स्थानान्तरण गरेको छ। नदीको बहाव बढिरहेको भन्दै थप जोखिममा रहेका नागरिकलाई पनि सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय सुस्ताको परिसरसमेत डुबानमा परेको छ। कार्यालयमा रहेका हातहतियार तथा अन्य प्रहरी सामग्रीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
उद्धार तथा राहतका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, इलाका प्रहरी कार्यालय सुस्ता, इलाका प्रहरी कार्यालय बेलाटारी, सशस्त्र प्रहरी बलको बीओपी सुस्ता र नेपाली सेनाको टोली विपद् उद्धार सामग्रीसहित परिचालन भएका छन्।
प्रहरीका अनुसार हालसम्म बाढीबाट मानवीय तथा पशुचौपायको क्षति भएको छैन।





