११ असोज, नारायणगढ (चितवन) । नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको यो जलसतह हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो। देवघाटमा ७ दशमलव ३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ।
पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ। जलसतह घट्दो क्रममा रहे पनि नदी अझै खतराको तहभन्दा निकै माथि रहेको छ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार देवघाटमा जलमापन सुरु भएयताकै उच्च जलसतह आज मापन भएको हो। पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए।
कार्यालयका अभिलेखअनुसार यसअघि विसं २०८१ असोज १२ गते नारायणी नदीमा ११ दशमलव ६० मिटर जलसतह मापन भएको थियो। त्यस्तै, विसं २०८० साउन २९ गते ८ दशमलव ३३ मिटर, २०७९ असोज २० गते ९ दशमलव ५२ मिटर र २०७८ असार २ गते १० दशमलव ५० मिटर जलसतह पुगेको थियो।
देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको नारायणी बेसिन फिल्ड कार्यालयले जनाएको छ।





