बैतडी : पाटन नगरपालिका–४ मा जन्मिएकी भागरथी भट्टको सार्वजनिक यात्रा विद्यार्थी राजनीति, पत्रकारिता, समाजसेवा, युवा गतिविधि र खेलकुदसँग जोडिएको छ।
करिब एक दशकदेखि नेपाल विद्यार्थी संघमा आबद्ध रहँदै आएकी भट्ट अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बैतडीबाट युवा महिला महाधिवेशन प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित भएकी छन्।
बाल्यकालदेखि नै नेतृत्व र समाजसेवाप्रति रुचि राख्दै आएकी भट्टको राजनीतिक सक्रियता विद्यार्थी जीवनदेखि सुरु भएको हो।
नेपाल विद्यार्थी संघमा आबद्ध भएर संगठन विस्तार तथा विद्यार्थी गतिविधिमा सक्रिय हुँदै उनले बैतडीका अधिकांश विद्यालय तथा सबै कलेजमा संगठन विस्तारका गतिविधिमा समेत भूमिका निर्वाह गरेकी छन्। यही क्रममा उनले पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारीसमेत सम्हालिन्।
विद्यार्थी नेतृत्वको अनुभवसँगै उनी नेपाली कांग्रेसका विभिन्न राजनीतिक तथा संगठनात्मक गतिविधिमा निरन्तर जोडिँदै आएकी छन्।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी भएकी भट्ट त्यसयता पार्टीका गतिविधि, भातृ संघ तथा शुभेच्छुक संस्थाका कार्यक्रम र विभिन्न निर्वाचन अभियानमा सक्रिय रहँदै आएकी छन्। बैतडीका विभिन्न स्थानीय तहका निर्वाचनका क्रममा गाउँ–बस्तीमा पुगेर कार्यकर्ता, युवा तथा स्थानीय समुदायसँग प्रत्यक्ष सम्पर्क गर्ने अनुभवसमेत उनले हासिल गरेकी छन्।
तर उनको सक्रियता नेपाली कांग्रेसको संगठनमा मात्र सीमित छैन। युवा नेतृत्व, सामाजिक सेवा, खेलकुद र सञ्चारका माध्यमबाट विभिन्न क्षेत्रका युवासँग उनको निरन्तर सम्पर्क रहँदै आएको छ। FPAN मा युवा क्षेत्रमा काम गर्दै युवा सहभागिता, अधिकार, सचेतना र नेतृत्व विकासका गतिविधिमा अनुभव हासिल गरेकी उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा कार्यक्रमहरूमा समेत सहभागी भएकी छन।
पत्रकारिता उनको सक्रियताको अर्को महत्वपूर्ण क्षेत्र हो। पत्रकारिता तथा ग्रामीण विकास विषयमा स्नातक गरेकी भट्टले स्थानीय सञ्चारमाध्यममा सम्पादकको भूमिकामा रहेर काम गरेकी छन्। स्थानीय मुद्दा, सामाजिक सरोकार र समुदायका विषयलाई सञ्चारमाध्यममार्फत उठाउने अनुभवसमेत उनले हासिल गरेकी छन्। हाल उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन्।
खेलकुदतर्फ भट्ट नेपाली क्रिकेटकी राष्ट्रिय अम्पायर हुन्। उनले नेपाली क्रिकेटका विभिन्न राष्ट्रिय प्रतियोगितामा अम्पायरका रूपमा जिम्मेवारी निर्वाह गरेकी छन्। साथै स्थानीयस्तरका खेलकुद गतिविधि तथा प्रतियोगितामा समेत उनको सहभागिता रहँदै आएको छ। खेलकुदमार्फत पनि उनी विभिन्न उमेर समूहका युवासँग जोडिँदै आएकी छन्।
बैतडीका राजनीतिक कार्यक्रमसँगै सामाजिक, युवा, सञ्चार र खेलकुद गतिविधिमा निरन्तर देखिँदै आएकी भट्टको परिचय पछिल्लो समय पार्टीको संगठनभन्दा बाहिर पनि विस्तार भएको छ।विभिन्न क्षेत्र र पृष्ठभूमिका युवासँगको सहकार्य तथा निरन्तरको सक्रियताले उनलाई बैतडीको युवा पुस्तामाझ परिचित अनुहारका रूपमा स्थापित गरेको छ।
१५औँ महाधिवेशनका लागि निर्विरोध निर्वाचित भएपछि भट्टले नेपाली कांग्रेस बैतडीको नेतृत्व,अग्रज नेता, क्षेत्रीय प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेकी छन्। प्राप्त विश्वासलाई उनले व्यक्तिगत उपलब्धिभन्दा पनि थप जिम्मेवारीका रूपमा लिएकी छन्।
पाटन नगरपालिका ४ बाट सुरु भएको यात्रा,विद्यार्थी राजनीतिदेखि विद्यालय तथा कलेजस्तरको संगठन विस्तार, स्ववियु नेतृत्व, १४औँ महाधिवेशनको सहभागिता, स्थानीय तहका निर्वाचन अभियान, पत्रकारिता, समाजसेवा,युवा गतिविधि हुँदै अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रतिनिधित्वसम्म पुगेको छ।
राजनीतिक पहिचानसँगै पत्रकारिता, समाजसेवा, खेलकुद र युवा अभियानमा बनाएको सम्बन्धले भागरथी भट्टको सार्वजनिक परिचयलाई फराकिलो बनाएको छ। महाधिवेशन प्रतिनिधिको नयाँ जिम्मेवारीसँगै उनको यो बहुआयामिक यात्रा अब अर्को चरणमा प्रवेश गरेको छ।





