जबराको मध्यरातको गिरफ्तारीप्रति युवराज दुलालको आपत्ति, सरकारमाथि उठाए प्रश्न

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा गरिएको गिरफ्तारीप्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले देशका विभिन्न क्षेत्रमा जारी बाढीपहिरोको विपत्तिबारे सरकारको ध्यानाकर्षण गराउँदै जबराको गिरफ्तारीको विषयसमेत उठाएका हुन् ।

उनले पछिल्लो चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको भन्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरे ।

विपत्तिको समयमा नागरिकलाई राहत दिनुको सट्टा सरकार अन्य विषयमा केन्द्रित भएको आरोप लगाउँदै उनले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि जनाए ।

दुलालले पक्राउ पुर्जीबिना मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैरकानूनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिए । उनले भने, ‘हामी कानूनी राज्यमा छौँ कि अराजकताको बाटोमा? यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन ।’

सुरक्षा थ्रेटको कारण देखाउँदै जबरालाई पक्राउ गरिएको र १२ घण्टा नबित्दै रिहा गरिएको घटनामाथि पनि उनले प्रश्न उठाए । विगतमा पूर्वप्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशमाथि गरिएको व्यवहारले कानूनी राज्यको उपहास भएको उनको दाबी थियो ।

उनले सरकारलाई संवैधानिक र कानूनी बाटोबाट देश सञ्चालन गर्न सचेत गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी