मनाङ हिमपहिरो : थप २ जनाको शव फेला, मृतकको संख्या ४ पुग्यो
काठमाडौं । मनाङको हिम्लुङ क्षेत्रमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ । यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना असोज ११ गते सकुशल फर्किएका थिए । बाँकी १२ जना भने सम्पर्कविहीन भएका थिए ।
फेला परेका शवमध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेवी भोटे र भोटखोला गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन् ।
कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप २ जनाको शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको छ । ती दुवै शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ । बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।





