राष्ट्रिय महिला PUBG Mobile च्याम्पियनसिपको फाइनल आज, १६ टोलीबीच उपाधिका लागि भिडन्त

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपालमा महिला ई–स्पोर्ट्स खेलाडीहरूको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला PUBG Mobile च्याम्पियनसिप २०२६ को फाइनल प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनलका लागि छनोट भएका छन्। आज हुने अन्तिम प्रतिस्पर्धामा यी १६ टोलीबीच उपाधिका लागि रोमाञ्चक भिडन्त हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। उपाधिका साथै आकर्षक पुरस्कारका लागि खेलाडीहरूले अन्तिम चरणमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

महिला ई–स्पोर्ट्सको विकास, नयाँ प्रतिभाको पहिचान तथा महिला खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। आयोजकका अनुसार यस प्रतियोगिताले नेपाली महिला PUBG Mobile खेलाडीहरूको प्रतिभा र सम्भावनालाई थप उजागर गर्न सहयोग पुर्‍याउनेछ।

फाइनल प्रतिस्पर्धामा म्याक्स टाइगर इनर्जी ड्रिङ्कको सहकार्य रहेको छ। म्याक्स टाइगरको ‘पावरप्याक्ड’ ऊर्जासँगै फाइनलको जोश, उत्साह र प्रतिस्पर्धात्मक वातावरण थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

नेपालमा ई–स्पोर्ट्सको लोकप्रियता बढिरहेका बेला महिला खेलाडीलाई केन्द्रमा राखेर आयोजना गरिएको यस च्याम्पियनसिपले नयाँ खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

आजको फाइनलबाट प्रतियोगिताको विजेता टोलीको टुंगो लाग्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी