रंग पत्रकारितामा सक्रिय सबिता पोखरेललाई प्रतिष्ठित ‘परिवर्तन नेपाल पत्रकारिता सम्मान’

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ असोज, काठमाडौं । कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय प्रतिष्ठित संस्था परिवर्तन नेपालको आयोजनामा दुर्गा देवी–पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कला, साहित्य, चलचित्र, पत्रकारिता तथा संगीत क्षेत्रका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

परिवर्तन नेपालले आफ्नो स्थापनाकाल वि.सं.२०५३ साल देखि नै नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न स्रष्टा, सर्जक तथा परिवर्तन नेपालसँग आबद्ध चलचित्रकर्मीहरूलाई सम्मान गर्दै आएको छ। संस्थाले आफ्नो उद्देश्य अनुसार कला तथा संस्कृतिको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार मार्फत प्रोत्साहन गर्दै आएको हो।

नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्दको सभापतित्वमा सम्पन्न समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

स्वागत मन्तव्यका क्रममा अध्यक्ष निरौलाले पितृ पक्षको अवसर पारेर आफ्ना दिवंगत माता–पिता दुर्गादेवी तथा पुण्य निरौला र वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा पुरस्कार तथा सम्मान अर्पण गरिएको बताए। समारोहमा विभिन्न विधामा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सोही अवसरमा रंग पत्रकार तथा “म्युजिक खबर” की सम्पादक सबिता पोखरेल “परिवर्तन नेपाल पत्रकारिता सम्मान” बाट सम्मानित भएकी छन्। कला, संस्कृति तथा रंग पत्रकारिताको क्षेत्रमा लामो समय देखि सक्रिय पोखरेललाई पत्रकारिता मार्फत नेपाली कला तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

पोखरेल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छिन्। उनले कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र कलाकारका गतिविधिलाई सञ्चार माध्यम मार्फत निरन्तर उजागर गर्दै आएकी छन्। विशेषगरी रंग पत्रकारितामा सक्रिय पोखरेलले नेपाली गीत–संगीत, चलचित्र, कलाकार तथा सांस्कृतिक गतिविधिका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएकी छन्।

पत्रकारितासँगै पोखरेल विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा समेत सक्रिय रहँदै आएकी छन्। उनी “म्युजिक खबर अवार्ड” तथा “म्युजिक खबर तीज अवार्ड” की कार्यक्रम संयोजक समेत हुन्। यस्ता कार्यक्रम मार्फत नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याउने कलाकार तथा सर्जकलाई प्रोत्साहन र सम्मान गर्ने कार्यमा पनि उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

त्यसैगरी पोखरेल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको महिला संयोजक समेत हुन्। पत्रकारिता र सांस्कृतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी उनले यस अघि पनि विभिन्न संघ–संस्था तथा प्रतिष्ठित निकायबाट दर्जनौँ पत्रकारिता तथा सामाजिक सम्मान प्राप्त गरिसकेकी छन्। “परिवर्तन नेपाल पत्रकारिता सम्मान” प्राप्त गरेपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्मान प्रति आभार व्यक्त गरेकी छन्। उनले परिवर्तन नेपालको विशेष मञ्चमा प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति बीच सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएकी छन्।

पोखरेलले पत्रकारिता क्षेत्रमा आफूले पुर्‍याएको सानो योगदानको मूल्यांकन गर्दै प्रतिष्ठित सम्मानका लागि योग्य ठानेकोमा परिवर्तन नेपाल परिवार, अध्यक्ष तथा छनोट समितिप्रति हृदयदेखि नै आभार व्यक्त गरेकी छन्। उनले प्राप्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धि भन्दा पनि आफूलाई सत्य र तथ्यको मार्गमा अघि बढ्न प्रेरणा दिने अग्रज पत्रकार, परिवार तथा शुभचिन्तकहरूको निरन्तर साथ, सहयोग र विश्वासको प्रतिफलका रूपमा लिएको उल्लेख गरेकी छन्।

उनले सम्मानले आगामी दिनमा आफूलाई अझ जिम्मेवार, निष्पक्ष र सशक्त ढंगले पत्रकारितामा क्रियाशील रहन थप ऊर्जा तथा प्रेरणा मिलेको बताएकी छन्। साथै उनले आफ्ना शुभचिन्तक, अग्रज तथा सम्पूर्ण सहयोगीहरूको माया र आशीर्वाद आगामी दिनमा पनि निरन्तर प्राप्त भइरहोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्। परिवर्तन नेपालले आयोजना गरेको यस सम्मान समारोहले नेपाली कला, संस्कृति, चलचित्र तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको योगदानको कदर गर्दै उनीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्। यस्ता सम्मान तथा पुरस्कारले नेपाली कला र संस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशील स्रष्टा तथा पत्रकारलाई थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्