रोल्पाका ‘जब्बर’ नेता अमरसिंह कांग्रेस महामन्त्रीको दौडमा

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ असोज, काठमाडौं । कांग्रेसको जारी १५ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी बनेका छन् रोल्पाका नेता अमरसिंह पुन । उनी माओवादी जनयुद्धबाट पीडित भएर पनि कांग्रेसबाट नहल्लिएका जब्बर पात्र हुन् ।

कांग्रेसमा तत्कालीन सभापति शेरबहादुर देउवाको वर्चश्व रहँदा पनि उनी गगन थापा समूहमा खुलेर लागेका थिए । अहिले लुम्बिनी प्रदेशमा पार्टीको नेतृत्व सम्हालेसँगै केन्द्रीय महामन्त्रीमा उम्मेदवार बनेका छन् । कांग्रेसलाई आम जनतामाझ स्थापित गराउने उद्देश्यसहित नेतृत्वमा जान खोजेको उनको भनाइ छ ।

कांग्रेसको लुम्बिनी प्रदेश सभापति हुँदै पार्टीको केन्द्रीय राजनीतिमा समेत सक्रिय भूमिका निभाएका पुन सबैसँग मिल्ने, सरल स्वभावका नेताका रुपमा चिनिन्छन् ।
आफ्नो उम्मेदवारीबारे उनी भन्छन्, ‘पार्टीलाई बलियो बनाउनका लागि काम गर्ने संकल्पसहित म महामन्त्री पदको उम्मेदवार बनेको छु । नेपाली कांग्रेस अहिले जेनजी युवासहित अनुभवी नेता-कार्यकर्ताको भावनालाई बोकेर हिँडिरहेको पार्टी हो । युवादेखि पाका पुस्ताको भावनालाई समेटेर पार्टीलाई चलायमान गराउने संकल्पसहित उम्मेदवार बनेको हुँ ।’

२०२७ साल असार ३ गते रोल्पाको साविक राँक गाविस वडा नम्बर ८ (हालको गंगादेव गाउँपालिका वडा नम्बर ७) मा अमरसिंह पुनको जन्म भएको थियो । प्राथमिक तहको शिक्षापछि उनी १८ वर्षको उमेरमै भारत लागे । भारतमै उनले हाईस्कुल तहको अध्ययन गरेका थिए । भारतबाट २०५० सालमा नेपाल फर्केपछि उनी गाउँघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर भए ।

पञ्चायतकालमा बहुदलीय व्यवस्था ल्याउनका लागि विभिन्न राजनीतिक अभियानमा सक्रिय भएका अमरसिंह नेपालमा बहुदल स्थापनापछि औपचारिक रूपमा राजनीतिमा होमिएका हुन् । तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संगठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी गराउन वि.सं. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा उनको योगदान थियो ।

२०५२ सालबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि विस्थापित भएर २०५६ सालदेखि बाँकेको नेपालगन्जमा बस्न थालेका हुन् । २०५८ देखि २०५९ सम्म नेपालगन्जमा बस्दा त्यहाँ पनि सशस्त्र द्वन्द्वको प्रभाव बढ्दै गयो र उनीमाथि हुनसक्ने सुरक्षा खतराको जोखिम रोक्न स्थानीय प्रशासनकै सल्लाहमा काठमाडौं स्थान्तरण भए ।

माओवादी कार्यकर्ताले पटक-पटक आक्रमण गर्ने प्रयास गरेको तर जोगिएको उनले बताउँदै आएका छन् । २०६२–२०६३ को दोस्रो जनआन्दोनमा सहभागिता जनाएका अमरसिंह प्रहरीको कुटाइबाट घाइते हुनुका साथै केही समय पक्राउ पनि परेका थिए ।

अमरसिंह नेपाली कांग्रेसको ११औँ महाधिवेशनदेखि निरन्तर रुपले महासमिति सदस्यमा निर्वाचित हुँदै आएका छन् । २०६२ सालमा भएको कांग्रेसको ११औं अधिवेशनबाट रोल्पा जिल्ला कोषाध्यक्षमा चुनिएका उनी २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित भएका थिए । उनकै नेतृत्वमा रोल्पामा नेपाली कांग्रेस रोल्पाको सुविधासम्पन्न कार्यालय भवन तथा स्वर्गीय सुशिल कोइरालाको शालिक निर्माण गरियो ।

पुन २०७० को दोस्रो संविधान सभा निर्वाचनबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । कोइराला परिवारसँग निकट मानिने अमरसिंह तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग प्रियपात्र थिए । त्यतिबेला संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गरेका थिए । सरकारको सिंचाई राज्यमन्त्री पनि भए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उनी लुम्बिनी प्रदेशको सभापति पदमा निर्वाचित भएका हुन् । उनले आफू पार्टीको पदाधिकारीमा पुगेसँगै अहिले कुनै कारणले बाहिर रहेकाहरुलाई पनि समेट्ने योजना बनाएको जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्