एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२१ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले अनलाइनखबरलाई जानकारी दिए ।

सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ ।

सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष र महासचिव भने सम्पर्कविहीन छन् ।

राष्ट्रिय हित र प्रतिष्ठाविपरीत होमगेम विक्री, राखेपको निर्देशन अवज्ञा र अवैध भत्ता वितरण, महिला साफ गेममा होटल दररेटमा कमिसन र भ्रष्टाचार, बिनास्वीकृति आफुखुसी वैदेशिक भ्रमण, अनुदान रकमको दुरुपयोग र अनावश्यक नियुक्ति गरेको भन्दै एन्फाविरुद्ध उजुरी परेको थियो ।

यस्तै, विभिन्न समयमा भएका टेण्डरहरू प्रचलित कानून बमोजिम नगरको, विभिन्न प्रतियोगिताहरूमा मार्केटिङ, डिजिटल, बोर्डकाष्टिङ र टिकेटिङ राईट दिँदा भ्रष्टाचार गरेको समेतका व्यहोरा उठाइ एन्फाभित्र भइरहेको गम्भीर अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोग सम्बन्धमा छानबिन गरी कारबाही गर्न माग गर्दै उजुरी परेपछि छानविन सुरु भएको थियो ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्