काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । बिहीबारदेखि सुरु भएको महाधिवेशनमा उनी यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको साङ्गठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिष्ठानको उपाध्यक्ष पदका लागि खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी, श्रीकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन् ।
प्रतिष्ठानका अन्य पदका लागि भने आज मतदान हुँदैछ ।





