काठमाडौं, २३ असोज । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य बीमा सेवालाई सहज र प्रविधिमैत्री बनाउन नौवटै वडाका स्वास्थ्य बीमा दर्ता कर्मचारीलाई मोबाइल ट्याब वितरण गरेको छ।
नगर प्रमुख दीपक रिसालले कर्मचारीहरूलाई ट्याब हस्तान्तरण गरेका छन्।
ट्याबको प्रयोगबाट कर्मचारीहरूले नागरिकको घरमै पुगेर फोटो खिच्ने, आवश्यक विवरण संकलन गर्ने र अनलाइनमार्फत स्वास्थ्य बीमा दर्ता प्रक्रिया अघि बढाउन सक्नेछन्।
यो व्यवस्था लागू भएपछि स्वास्थ्य बीमा दर्ताका लागि नागरिकले भोग्नुपर्ने झन्झट कम हुनुका साथै समयको बचत हुने अपेक्षा गरिएको छ। घरदैलोमै सेवा उपलब्ध हुने भएकाले स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष सुवास प्याकुरेलले गोकर्णेश्वर नगरपालिकाले सुरु गरेको यो कार्यक्रम नेपालमै पहिलो भएको जानकारी दिएका छन्।
नगरपालिकाको यस पहलले स्वास्थ्य बीमा दर्ता प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउनुका साथै नागरिकलाई प्रविधिमार्फत सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





