विश्व बैंकसँग सम्झौता गर्नेदेखि खेलाडीलाई नगद पुरस्कार दिनेसम्म, मन्त्रिपरिषद्का चार निर्णय
काठमाडौं । सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
बैठकले विभिन्न चारवटा मुख्य निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने ।
२. बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने ।
३. जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।
४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने ।





