गोकर्णेश्वर–५ मा संयुक्त टोल सुधार समिति परिवारद्वारा बडादसैँ, दीपावली र छठको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्विरहरु)

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

२५ असोज, काठमाडौं। ‘हाम्रो टोल, हाम्रो पहिचान, हाम्रो सम्पदा, हाम्रो संरक्षण’ भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिका–५ मा संयुक्त टोल सुधार समिति परिवारको आयोजनामा बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले विभिन्न टोल सुधार समिति, युवा क्लब तथा महिला समूह एकै ठाउँमा भेला भएर चाडपर्वको शुभकामना आदानप्रदान गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको बताए।

उनले यस्ता कार्यक्रमले नगर सरकार र नगरवासीबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै विकास निर्माणका काममा सहकार्य र समन्वय गर्न सहज हुने धारणा व्यक्त गरे ।

नगर प्रमुख रिसालले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, मेलमिलाप र एकताको भावना बलियो बनाउने उल्लेख गर्दै विभिन्न समुदायका नागरिकबीच आत्मीयता कायम राख्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

‘नगरवासीको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार हाम्रो प्राथमिकता हो’ भन्ने धारणा व्यक्त गर्दै उनले नगरपालिकाले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

साथै, नगरवासीले प्राप्त गर्दै आएका स्वास्थ्य तथा शिक्षासम्बन्धी सुविधालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।।

नगर प्रमुख रिसालले नगरको समग्र विकासका लागि जनप्रतिनिधि, स्थानीय संघसंस्था, युवा क्लब, टोल सुधार समिति तथा आम नगरवासीबीच सहकार्य आवश्यक रहेको बताए।

विकास निर्माणदेखि सामाजिक तथा रचनात्मक गतिविधिसम्म सबैको सहभागिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले समाज परिवर्तनमा युवाको भूमिका निर्णायक रहने धारणा राखे।

युवा क्लबहरूले सञ्चालन गर्ने सामाजिक सेवा, सरसफाइ, जनचेतना तथा अन्य रचनात्मक गतिविधिमा नगरपालिकाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको बताउँदै उनले स्थानीयस्तरमा हुने विकास निर्माण र सामाजिक गतिविधिमा जनप्रतिनिधि तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। नगरको समृद्धि र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, नगर प्रवक्ता एवं वडा नं। ५ का अध्यक्ष नारायणबहादुर सुबेदी, वडा सदस्यहरू श्री योगी, धर्म थिङ लामा र लक्ष्मी पुडासैनी, समाजसेवी एवं मानवअधिकारकर्मी रामकृष्ण बराल, दुर्गा बराल तथा नयाँबस्ती युवा क्लबका अध्यक्ष चन्द्रमणि गौतमलगायत विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक विवेक खड्काले समाजका विभिन्न क्षेत्रका दाजुभाइ, दिदीबहिनी तथा ज्येष्ठ नागरिकबीच आत्मीयता, भाइचारा र आपसी मेलमिलापलाई थप बलियो बनाउने उद्देश्यले सामूहिक शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

विभिन्न टोल सुधार समिति, महिला समूह तथा युवा क्लबहरूको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीय समुदायबीच एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। आयोजकले यस्ता कार्यक्रमले स्थानीयस्तरमा आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सामुदायिक गतिविधिमा नागरिकको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नवज्योति टोल सुधार समिति, प्रगतिमार्ग डोलेगाउँ टोल सुधार समिति, मणिगाल निर्माण उपभोक्ता समिति, पृथ्वी टोल सुधार समाज, लालिगुराँस टोल सुधार समिति, नवज्योति महिला समूह, डोलेगाउँ महिला समूह, तरवा महिला विकास समिति, नवज्योति युवा क्लब तथा प्रगति युवा क्लब लगायतका संस्थाहरूको सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी