विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुक्यो : केपी शर्मा ओली

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बूढीगण्डकी नदीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यलाई लिएर सरकारको तीव्र आलोचना गरेका छन्। उनले विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाउँदै राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको टिप्पणी गरेका छन्।

पार्टीको मिसन जागरण अभियानअन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपद्का बेला सरकारी स्रोतसाधनको दुरुपयोग भएको आरोप लगाए। उनले सरकारी हेलिकोप्टरको प्रयोगमा समेत लापरबाही भएको भन्दै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरे।

यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि उद्धारमा हेलिकोप्टरको दुरुपयोग भएको र राहत तथा उद्धारका काम समयमै हुन नसकेको ओलीको भनाइ थियो। आगामी दिनमा यस्ता कमजोरी नदोहोर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए।

विपद् व्यवस्थापनजस्तो संवेदनशील विषयमा सरकारले सबै पक्षलाई समेट्न नसकेको टिप्पणी गर्दै ओलीले सर्वदलीय समिति गठन गर्न नसक्नु सरकारको कमजोरी भएको बताए। उनले फराकिलो सोचका साथ उद्धार कार्य अघि बढाउन सरकारलाई आग्रह गरे।

त्यस्तै, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग समयमै स्वीकार गरी उचित सदुपयोग गर्न नसक्दा उद्धार कार्य प्रभावित भएको ओलीले दाबी गरे। वैदेशिक सहयोगको प्रभावकारी परिचालन हुन नसक्दा थप नागरिकले ज्यान गुमाउनुपरेको हुन सक्ने उनको भनाइ थियो।

ओलीले सरकारको मुख मात्र ताकेर नबस्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएका छन्। उनले बाढीका कारण घर बगाएको, केही व्यक्ति बेपत्ता भएको र ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावितको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी