धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।
मन्त्री मल्लले यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेटकै आकारमा नयाँ बजेट ल्याएका हुन्।
सरकारले बजेटको स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट १० अर्ब २४ करोड रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ अनुमान गरेको छ।
त्यस्तै, नेपाल सरकारको वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, अघिल्लो आर्थिक वर्षबाट बचत हुने रकमबाट नौ अर्ब ३५ करोड रुपैयाँ र संघीय सशर्त अनुदानबाट छ अर्ब तीन करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैगरी, संघीय समपूरक अनुदानबाट ३८ करोड रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड रुपैयाँ जुटाउने सरकारको अनुमान छ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट पारित हुन सकेको थिएन। त्यसपछि एमाले र नेकपाको गठबन्धन सरकार गठन भएको थियो।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको हो।




