काठमाडौँ । प्रहरीले बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद गरेको २१ किलो ७५० ग्राम सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ ।
म्याद लिएर अनुसन्धान गर्न सुन भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई जानकारी दिएका छन् ।
सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकमाथि भन्सार कार्यालयले म्याद लिएर अनुसन्धान सुरु गरेको छ । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको एसएसपी खड्काले बताएका छन् ।
सुनको ‘नेक्सस’बारे आफ्नो टोलीले समेत अनुसन्धान गरिरहेको उनले बताए । ‘कहाँबाट आयो र कहाँ जाँदै थियो भन्नेबारे हामीले पनि हेरिरहेका छौँ,’ उनले भने ।
प्रहरीले असोज २२ गते बिहान सुन बरामद गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेनलाई पक्राउ गरिएको थियो ।




