७५ वर्षीय वृद्धको हत्या,हतियारसहित एकजना पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

मुगु :मुगुमा धारिलो हतियार प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या भएको छ। छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ७५ वर्षीय धनवीर कामीको मंगलबार बिहान खुँडा प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार बिहान करिब ८ बजेर २० मिनेटमा सोही ठाउँका ३२ वर्षीय अजवीर कामीले घरको आँगनमा बसिरहेके बेला धनवीरमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए।

हतियार प्रहारबाट गम्भीर घाइते भएका धनवीरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु पुर्‍याइएको थियो। तर,अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनालगत्तै फरार भएका आरोपित अजवीरलाई प्रहरीले घटनाको करिब एक घण्टाभित्रै हतियारसहित पक्राउ गरेको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको नेतृत्वमा ३५ जनाको प्रहरी टोली खोजतलासमा परिचालन भएको थियो। प्रहरीले खोजी गर्ने क्रममा बिहान करिब ९ बजेर ३० मिनेटमा छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा तालतर्फ जाने धेले भन्ने स्थानको झाडीमा लुकिरहेको अवस्थामा आरोपित अजवीरलाई खुँडासहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल मुगु लगिएको छ।

वृद्धमाथि धारिलो हतियार प्रहार गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनामा प्रयोग भएको हतियार प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्