२७ असोज, काठमाडौं । पश्चिम नवलपरासीको पाल्हिनन्दन-३ स्थित बेलासपुरमा रहेको नेपाल बैंककाे शाखाले नक्कली नोट दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । एक सेवाग्राहीले मौज्दात रकम झिक्दा एक हजारका दुई वटा नक्कली नोट दिएकाे भन्दै उजुरी दिएका हुन् ।
गत शुक्रबार ती सेवाग्राहीले १२ हजार रुपैयाँ रकम झिक्दा सयको १० हजार र एक/एक हजारका दुईवटा नोट बैंकले उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाले जानकारी दिए । उनले भने “उहाँहरुले पैसा झिकेर लगेको केही दिन पछि मात्रै आएर नोट नक्कली रहेछ भनेर उजुरी गर्नु भएको छ, हामीले अनुसन्धान गर्दैछौँ।”
बैंकका कर्मचारीले भने त्यसबारे खासै जानकारी नभएकाे बताएका छन् । एक कर्मचारीले भने, “त्यही बिषयमा कुरा गर्न जिल्ला प्रहरी कार्यालय बोलाउनु भएको छ, के रहेछ, म त्यहीँ जादैछु।”
प्रहरीले उजुरीकर्ताको नाम भने गाेप्य राखेकाे छ ।




