काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा ओपनिङ ब्याटर मोइन अलीले अविजित अर्धशतक बनाए। उनले ५१ बलमा ५८ रन जोडे। त्यस्तै, सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँ गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने रसिद खानले १७ र स्मित पटेलले १३ रन जोडे।
काठमाडौँलाई कम स्कोरमा रोक्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। सैफ हसनले २ विकेट लिँदा मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको हो।
आजै हुने दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।




