काठमाडाैं, २२ कार्तिक । आज विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष नोभेम्बर ८ तारिखका दिन विश्वभर मनाइन्छ। स्वास्थ्य क्षेत्रमा, विशेष गरी रोगको निदान र उपचारमा रेडियोग्राफी (एक्स-रे तथा अन्य मेडिकल इमेजिङ) को महत्त्व र योगदानबारे जनचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ।
सन् १८९५ को नोभेम्बर ८ का दिन जर्मनीका भौतिकशास्त्री विलहरोम रोन्टजेनले एक्स-किरण पत्ता लगाएका थिए। यो ऐतिहासिक आविष्कारले चिकित्सकहरूलाई शरीरभित्रका हाडजोर्नी, ट्युमर तथा विभिन्न आन्तरिक समस्याहरू बिनाशस्त्र (चीरफार नगरी) अवलोकन गर्न र सही उपचार गर्न सहज बनायो। यो महत्त्वपूर्ण योगदानका लागि उनलाई सन् १९०१ मा भौतिकशास्त्रतर्फको पहिलो नोबेल पुरस्कार प्रदान गरिएको थियो।
बिरामीको सही निदानका लागि पर्दा पछाडि रहेर काम गर्ने रेडियोग्राफरहरू र रेडियोलोजिस्टहरूको योगदानको सम्मान तथा सराहना गर्नु, सुरक्षित मेडिकल इमेजिङ, एक्स-रे परीक्षणको आवश्यकता र यसले आधुनिक चिकित्सा विज्ञानमा पुर्याएको योगदानबारे आम मानिसलाई जानकारी गराउनु जस्ता उदेश्य रहेका छन् ।
रेडियोग्राफी प्रविधिकै कारण आज क्यान्सर, हाडजोर्नीका समस्या, फोक्सोका रोग तथा विभिन्न आन्तरिक चोटपटकहरूको समयमै सहजरूपमा पहिचान गरी उपचार सम्भव भएको छ।




