काठमाडौं, २ मंसिर । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । बुधबार दक्षिण चिनियाँ सहर सेन्जेनमा सी र पुटिनबीच द्विपक्षीय वार्ता भएको हो ।
सेन्जेनमा सुरु भएको एपेक शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा शक्तिहरूलाई ‘पूर्व प्रभुत्वशाली शक्ति’ को संज्ञा दिँदै युरोप अहिले अपमानजनक पतनको अवस्थाबाट गुज्रिरहेको बताए।
‘अनुभवले के देखाएको छ भने आर्थिक प्रभुत्व जमाउने र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब दिने परम्परागत उपायहरू अब धेरै हदसम्म प्रभावहीन भइसकेका छन् । तिनको त्रास देखाउने क्षमता पनि निकै कमजोर भइसकेको छ,’ उनले भने ।
पुटिनले नाकाबन्दी, भन्सार शुल्क र निर्यातमा लगाइएका रोकहरूले केही हदसम्म निरुत्साहित गर्ने प्रभाव पार्न सके पनि यिनले विकासलाई रोक्न त के, प्रतिस्पर्धीहरूको अर्थतन्त्रलाई ध्वस्त पार्न नसक्ने चेतावनी दिए ।
युक्रेनविरुद्धको युद्धका कारण रुसी अर्थतन्त्रमाथि अमेरिका र युरोपले कडा प्रतिबन्धहरू लगाएका छन्। यो युद्ध फेब्रुअरी २०२२ मा सुरु भएको थियो । मस्कोले छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकासहित पश्चिमी मुलुकले रसियामाथि नाकाबन्दी लगाएका छन् ।
एपेक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुँदैछन् । उनले बिहीबार सि र पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।




