आज अन्तर्राष्ट्रिय पुरुष दिवस : पुरुषको लैङ्गिक समानता र योगदानको कदर गरिँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडाैं, ३ मंसिर । आज अन्तर्राष्ट्रिय पुरुष दिवस हाे । हरेक वर्ष नोभेम्बर १९ का दिन विश्वभर मनाइन्छ। पुरुष र बालकहरूको स्वास्थ्य, लैङ्गिक समानता, सकारात्मक पुरुष भूमिका र समाजमा पुरुषहरूले पुर्‍याएको योगदानको कदर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

सन् १९६० को दशकदेखि नै अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) जस्तै पुरुष दिवस पनि मनाउनुपर्छ भन्ने बहस सुरु भएको थियो। सन् १९९२ को फेब्रुअरी ७ मा थोमस ओस्टरले यसको सुरुवात गर्ने प्रयास गरेका थिए। सन् १९९९ नोभेम्बर १९ मा त्रिनिदाद एण्ड टोबागोस्थित वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तिलकसिंहले आफ्ना पिताको जन्मदिनको अवसर पारेर यस दिवसलाई पुनर्जीवित र औपचारिक रूपमा सुरुवात गरे। त्यसयता युनेस्कोलगायत विश्वका ८० भन्दा बढी देशहरूमा यसलाई मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय पुरुष दिवस विशेष गरी ६ वटा मुख्य आधारस्तम्भमा केन्द्रित रहेकाे छ । 

सकारात्मक पुरुष रोल मोडलको प्रवर्द्धन: चलचित्रका नायक मात्र नभई सामान्य जीवनमा इमानदार र परिश्रमी पुरुषहरूलाई समाजको प्रेरणाका रूपमा प्रस्तुत गर्ने।

पुरुषको योगदानको कदर: समाज, समुदाय, परिवार, विवाह, बालबच्चाको हेरचाह र वातावरण संरक्षणमा पुरुषहरूले पुर्‍याएको सकारात्मक योगदानको सम्मान गर्ने।

पुरुषको स्वास्थ्य र कल्याण: पुरुषहरूको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्यमा विशेष ध्यान दिने, जसमा मानसिक तनाव, डिप्रेसन र आत्महत्या रोकथाम जस्ता विषय पर्दछन् । 

पुरुषमाथि हुने विभेद उजागर: सामाजिक सेवा, सामाजिक दृष्टिकोण र अपेक्षा तथा कानुनी क्षेत्रमा पुरुषहरूले भोग्नुपरेका विभेद र चुनौतीहरूबारे सचेतना फैलाउने।

लैङ्गिक सम्बन्ध सुधार र समानता: महिला र पुरुषबीचको सम्बन्ध सुधार गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्ने।

सुरक्षित र उत्तम विश्व निर्माण: सबै मानिसहरू सुरक्षित रही आफ्नो पूर्ण क्षमता विकास गर्न सक्ने समाज निर्माण गर्ने।

नेपालमा पनि पछिल्लो समय विभिन्न सामाजिक संघसंस्था, युवा समूह र अभियानकर्ताहरूले नोभेम्बर १९ का दिन अन्तरक्रिया, सचेतनामूलक कार्यक्रम र सामाजिक सञ्जालमार्फत पुरुषको मानसिक स्वास्थ्य, पारिवारिक जिम्मेवारी र लैङ्गिक सन्तुलनका विषयमा बहस गर्दै यो दिवस मनाउने गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी