विधिको शासन सुनिश्चित गर्न सरकारलाई नेपाली कांग्रेसको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ – नेपाली कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन र विधिको शासन सुनिश्चित गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले सरकार संविधान, लोकतान्त्रिक व्यवस्था र राज्यका संयन्त्रमाथि प्रहार गर्ने बाटोमा लागेको आरोप लगाउनुभयो । सरकारले अध्यादेशको माध्यमबाट शासन चलाउन खोजेको भन्दै कांग्रेसले जारी गरिएका विवादास्पद अध्यादेशहरू तत्काल फिर्ता लिन र संसद्को अधिवेशन बोलाउन माग गरेको छ ।

बैठकले पासपोर्ट प्रकरण, सुनकोसी–मरिन डाइभर्सनमा भएको भनिएको अनियमितता तथा बाढीपीडित र सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयमा समेत सरकारको आलोचना गरेको छ । साथै, नेपाल–भारत सम्बन्धका संवेदनशील विषयहरूले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएको प्रति पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

यस्तै कांग्रेस पार्टीको आधिकारिक नाम, चारतारे झन्डा तथा चुनाव चिह्न ‘रुख’ को अनधिकृत प्रयोग गर्ने जोकोहीलाई पनि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । १५ औँ महाधिवेशनपछि निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक भइसकेको उल्लेख गर्दै कांग्रेसले झन्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न आयोगलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको अर्को समूहले समानान्तर रूपमा अगाडि बढाइरहेको अधिवेशनका गतिविधिप्रति बैठकले आपत्ति जनाएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्