आजको पञ्चाङ्ग तथा राशिफल

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

आज विक्रम संवत् २०८३ साल मंसिर १३ गते, आइतबार। इस्वी संवत् २०२६ नोभेम्बर २९ तारिख। नेपाल संवत् ११४७, रौद्र संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, श्रीशाके १९४८। आज मंसिर कृष्णपक्षको पञ्चमी तिथि बिहान ९ बजेर ४८ मिनेटसम्म रहनेछ। त्यसपछि षष्ठी तिथि लाग्नेछ।

आजको नक्षत्र तिष्य बेलुकी ५ बजेर १५ मिनेटसम्म रहनेछ। त्यसपछि अश्लेषा नक्षत्र लाग्नेछ। ब्रह्म योग बेलुकी ११ बजेर ४४ मिनेटसम्म रहनेछ भने त्यसपछि ऐन्द्र योग लाग्नेछ। करणमा बिहान ९ बजेर ४८ मिनेटसम्म तैतिल, त्यसपछि बेलुकी ८ बजेर ४२ मिनेटसम्म गर र त्यसपछि वणिज करण रहनेछ। आनन्दादि योगमा श्रीवत्स योग परेको छ। चन्द्रमा कर्कट राशिमा रहनेछन्।

काठमाडौँमा आज सूर्योदय बिहान ६ बजेर ३६ मिनेटमा र सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेटमा हुनेछ।

आजको बारबेला

आज बिहान ६ बजेर ३६ मिनेटसम्म उद्वेग बेला रहनेछ। त्यसपछि बिहान ७ बजेर ५५ मिनेटसम्म चर बेला, ९ बजेर १४ मिनेटसम्म लाभ बेला र १० बजेर ३३ मिनेटसम्म अमृत बेला रहनेछ।

त्यसैगरी बिहान ११ बजेर ५१ मिनेटसम्म काल बेला, दिउँसो १ बजेर १० मिनेटसम्म शुभ बेला, २ बजेर २९ मिनेटसम्म रोग बेला र ३ बजेर ४८ मिनेटसम्म उद्वेग बेला रहनेछ। त्यसपछि बेलुकी ६ बजेर ४८ मिनेटसम्म शुभ बेला रहनेछ।

शुभकार्य तथा यात्राका लागि लाभ र अमृत बेलालाई उपयुक्त मानिन्छ।

आजको राहुकाल

आज दिउँसो ३ बजेर ४७ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ। शास्त्रीय मान्यताअनुसार राहुकालमा शुभकार्य गर्नु हुँदैन भन्ने विश्वास छ।

ब्रह्म मुहूर्त

आज बिहान ४ बजेर ५९ मिनेटदेखि ५ बजेर ४७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ।

आजको राशिफल

मेष: पारिवारिक तथा घरायसी विषयमा मतभेद हुन सक्छ। साथीभाइसँग मनमुटाव बढ्ने सम्भावना छ। समयमा काम सम्पन्न नहुँदा आर्थिक पक्ष कमजोर रहन सक्छ। घरजग्गाको कारोबार तथा सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। कृषि तथा पशुपालन व्यवसायबाट भने आम्दानी गर्ने अवसर मिल्न सक्छ।

वृष: मन मिल्ने साथीसँग रमाइलो छोटो यात्राको योग छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। दाजुभाइको सहयोगले महत्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। विवादित विषय आफ्नै पक्षमा आउने सम्भावना छ। खाद्यान्न तथा औषधिजन्य क्षेत्रमा लगानी लाभदायी बन्न सक्छ। प्रविधिको प्रयोगबाट काम र अध्ययन सहज हुनेछ।

मिथुन: खोज तथा अनुसन्धानमा गरेको मेहनतले सकारात्मक नतिजा दिनेछ। भविष्यमा आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ। शुभ तथा माङ्गलिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। साङ्गीतिक तथा लामो दूरीको यात्राको सम्भावना छ।

कर्कट: सबैको सहयोग प्राप्त हुँदा काम गर्न सहज हुनेछ। सामाजिक तथा परोपकारी कार्यमा समय बित्नेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी गर्न सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। परिवार तथा आत्मीय मित्रसँग रमाइलो यात्राको योग छ। भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको सम्भावना छ।

सिंह: काम गर्दा विशेष सावधानी अपनाउनुहोला। दण्ड तथा जरिवानामा पर्न सक्ने सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ भने आफन्तसँग दूरी बढ्न सक्छ। अध्ययनमा ध्यान दिन नसक्दा पछि परिने सम्भावना छ। तर वैदेशिक व्यापार तथा विदेशमा श्रम गर्नेहरूका लागि समय अनुकूल रहन सक्छ।

कन्या: रोकिएका काम सम्पन्न हुँदा उत्साह बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक लाभ हुने काममा लगानी गर्न सकिनेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारका इच्छा र आकाङ्क्षा पूरा गर्न सकिनेछ।

तुला: पैतृक सम्पत्तिको सदुपयोगबाट आर्थिक अवस्था बलियो बन्न सक्छ। लक्ष्य प्राप्तिका लागि अघि बढेका कदम सकारात्मक दिशामा जानेछन्। अध्ययन तथा काम समयमै सम्पन्न हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। छोटो दूरीको धार्मिक यात्राको योग छ। खाद्यान्न, औषधि तथा गरगहनाको व्यापारबाट लाभ मिल्न सक्छ।

वृश्चिक: प्रशंसनीय तथा कल्याणकारी काम गरेर चर्चा कमाउन सकिनेछ। भाग्यले साथ दिँदा सानो प्रयासबाट पनि महत्वपूर्ण काम बन्नेछन्। धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। धार्मिक स्थलको यात्रा हुन सक्छ। दाजुभाइ तथा जीवनसाथीसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। लेखन तथा सिर्जनात्मक कार्यबाट आफ्नो विचार स्थापित गर्न सकिनेछ।

धनु: हल्लाको पछि लाग्दा दुःख पाउनुपर्ने अवस्था आउन सक्छ। सत्यतथ्य बुझेर मात्र अघि बढ्नुहोला। पुरानो रोगले सताउन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुहोला। अनावश्यक यात्रा तथा खर्च बढ्न सक्छ। अरूको काममा समय खर्च हुँदा आफ्ना काम प्रभावित हुन सक्छन्। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ।

मकर: सुखदुःखमा साथ दिने व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। परिवारको साथले नयाँ आशा र उत्साह जगाउनेछ। प्रेम तथा दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुन सक्छन्। आम्दानीको अवस्था राम्रो रहनेछ। व्यापार व्यवसाय तथा उद्योगमा गरिएको लगानीबाट लाभ मिल्ने सम्भावना छ।

कुम्भ: प्रतिस्पर्धामा सफलता प्राप्त हुने सम्भावना छ। लामो समयदेखि बिछोड भएका आफन्तसँग भेट हुँदा मन प्रसन्न हुनेछ। व्यापार व्यवसाय फस्टाउनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। पुरानो ऋण तथा रोगबाट राहत मिल्न सक्छ। कुटुम्ब तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ।

मीन: मेहनतका कारण प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ। जीवनसाथीको सहयोगले काम समयमै सम्पन्न गर्न सकिनेछ। शुभ तथा माङ्गलिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। संस्कार र संस्कृतिको संरक्षणमा समय बित्नेछ।

तपाईंको आजको दिन सुखद, सफल र शुभ रहोस्। नमस्कार!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्